अफगानिस्तानमा भूकम्प, २० जनाकाे मृत्यु
काठमाडौं । अफगानिस्तानमा आइतबार राति गएको भूकम्पमा परी २० जनाको मृत्यु भएको छ ।पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११:४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
घाइतेहरूको नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा उपचार भइरहेको छ । ८ किमि (५ माइल) गहिराइको भूकम्पपछि कम्तिमा तीनवटा पराकम्पन आएका छन्, जसको तीव्रता ४.५ देखि ५.२ सम्म रहेको छ । एएफपीका अनुसार, केही सेकेन्डसम्म भूकम्पले अफगानिस्तानको राजधानी काबुल (करिब २०० किमि टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (करिब ४०० किमि टाढा) समेत हल्लाएको थियो ।
प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रका घरहरू सामान्यतयाः भूकम्प प्रतिरोधी छैनन् । तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार कार्यका लागि सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । बाढी र भूकम्पपछि आएका पहिरोका कारण प्रभावित क्षेत्रमा जाने सडकहरू बन्द रहेका छन् ।
