रिहाइ माग गर्दैै रवि लामिछानेले अदालतमा बुझाए २ करोड ७४ लाखको बैंक जमानत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त माग गर्दै अदालतमा बिगो बराबरको बैंक जमानत बुझाउनुभएको छ ।
सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका लामिछानेले रुपन्देही जिल्ला अदालतमा बिगो वापत २ करोड ७४ लाख ८४ हजार€ रुपैयाँको बैंक जमानत पेश गर्नुभएको हो । लामिछाने आफू निर्दोष रहेको दावी समेत गर्नुभएको छ । लामिछानेले तीन दिनअघि अदालतमा निवेदन दिँदै आफूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ को आधारमा रिहा गर्न माग गर्नुभएको छ ।
दफा ६८ अनुसार अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सकिने कानुनी व्यवस्था छ । दफा ७१ ले मुद्दाको जुनसुकै अवस्थामा पनि यस्तो व्यवस्था लागू गर्न सकिने कानुन व्यवसायीहरु बताउँछन् । लामिछाने निवेदनमा आफू निर्दोष भए पनि अभियोग फँसिएको र सहकारी पीडितको रकम फिर्ता गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।
सुप्रिम सहकारी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध अदालतले कूल १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरेको छ । लामिछानेले त्यसअनुसार आफ्नो भागमा पर्ने सम्पूर्ण बिगो बराबरको रकम बैंक जमानतमार्फत बुझाउँदैे पुर्पक्ष थुनाबाट मुक्त गराउन माग गर्नुभएको हो ।
