बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानुनी संरचना आवश्यक : जनार्दन शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानुनी संरचना आवश्यक रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले प्रविधिको दुरुपयोग गर्दै मानव बेचबिखनलाई सहज बनाउने प्रवृत्ति बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शर्माले मानव तस्करी नयाँ रूप र प्रविधिबाट सञ्चालित हुने गरेको उल्लेख गर्दै सोही आधारमा विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताएका हुन् ।
सीमापार तथा प्रलोभनका भरमा तथा अनावश्यक आशा देखाएर मानव बेचबिखन बढिरहेको उल्लेख गरे । सरकारले मानवीय सुरक्षा र गरिमाका लागि प्रभावकारी कानुन निर्माण गरेर प्रविधियुक्त मानव तस्करी नियन्त्रण गर्न ढिलाइ गर्न नहुनेमा सांसद शर्माले जोड दिए ।
