रुसमा गयो शक्तिशाली भूकम्प
काठमाडौं । रुसको सुदूर पूर्वमा रहेको कामचट्का क्षेत्रको तट नजिकै आइतबार शक्तिशाली भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस --(जीएफजेड) का अनुसार आइतबार गएको उक्त भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर तल थियो ।
भूकम्पको तीव्रता ६ दशमलव २ रहेको भन्दै सुरुमा रोयटर्सले समाचार छापेको थियो । कामचट्का प्रायद्वीप भौगोलिक दृष्टिकोणबाट धेरै सक्रिय क्षेत्र हो । यसलाई ‘प्यासिफिक रिङ अफ फायर’ को भाग मानिन्छ । यो क्षेत्र दर्जनौँ सक्रिय ज्वालामुखीहरूले घेरिएको छ । टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा भएकोले पनि यहाँ प्रायः मध्यमदेखि गम्भीर भूकम्पहरू आउँछन् । जुलाई २० मा भएको भूकम्प कुनै असामान्य घटना होइन ।
तर यसको तीव्रता र केन्द्रबिन्दुको गहिराइले यसलाई सम्भावित रूपमा हानिकारक बनाएको हो । अहिलेसम्म यसमा कसैको ज्यान गएको वा सुनामी चेतावनी जारी भएको पुष्टि भएको छैन । गएको जुन १३ मा रुसको कुरिल टापुहरूमा ६ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्र जमिनबाट १२ किलोमिटर मात्रै तल थियो ।
