एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सक्रियताबारे छलफल, उचित जिम्मेवारी दिन नेताहरुको सुझाव
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियताबारे छलफल भएको छ ।
विधान महाधिवेशनको एजेण्डाबारे छलफल गर्न डाकिएको सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले नै पूर्वराष्ट्रपति भण्डारीको पछिल्लो राजनीतिक सक्रियताको विषयलाई प्रवेश गराउनुभएको हो । एमाले मुख्यालय च्यासलमा बिहीबार भएको बैठकमा अध्यक्ष ओलीले नै पूर्वराष्ट्रपति भण्डारीको सक्रियताबारे आवश्यक परे छलफल गरौँ भनेको सचिव योगेश भट्टराइले जानकारी गराउनुभएको छ । बैठकमा सहभागी सचिवालयका नेताहरुले पूर्वराष्ट्रपति भण्डारीले सबै सेवा सुविधा त्यागेर पार्टीमा सक्रिय हुन्छु भन्दै आएपछि अध्यक्षलेनै उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन् ।
एमालेले आउने भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्दैछ । त्यसको एजेण्डाबारे केन्द्रीय सचिवालयमा बिहीबारदेखि औपचारिक छलफल थालिएको हो ।
सचिवालय बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेश गरिने भएको छ । राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले प्रस्तुत गर्नुहुने भएको छ । सांगठनिक प्रतिवेदन महासचिव पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने एमालेले जनाएको छ ।
