रास्वपाले साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले हालसम्म करिब २५ लाख हस्ताक्षर सङ्कलन भएको जानकारी दिएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी अनुमानित हस्ताक्षर र खर्चको विवरण सार्वजनिक गरेको हो ।
सहकारी ठगी आरोपमा पुर्पक्षका लागि भैरहवा जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनामा राखेको भन्दै असार ७ गतेबाट हस्ताक्षर अभियान थालेको थियो ।
देश विदेशका विभिन्न माध्यमबाट हस्ताक्षर जारी नै रहेकाले तथ्याङ्क अझै बढी हुनसक्ने अभियानका संयोजक दीपक बोहराले जानकारी दिए । उनले हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बताए ।
पाँच लाख लामिछानेको अपिल र २ लाख हस्ताक्षर फारम भरेर पठाइसकेको पनि जानकारी दिए । हस्ताक्षर अभियानमा हालसम्म ५९ लाख ६८ हजार खर्चको भएको बोहराले जिकिर गरेका छन् ।
