sevenstartv.com १२ असार २०८३, शुक्रवार

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

२७ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ ।  बैठक दिउँसो २  बजेका बस्ने भएको हो । प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको आज साढे ६ महिनापछि बस्न लागेको हो । पछिल्लो पटक पुस १४ गते १६औँ नगरसभा बसेको थियो ।  

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादका कारण बालेनले कार्यपालिका बोलाएका थिएनन् । उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका बालेन अहिले भने उनी रहेकै अवस्थामा बैठक बोलाउने अवस्थामा पुगेका हुन् ।

नगरसभा बस्न नसक्दा महानगरले वार्षिक बजेट समेत ल्याउन सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होली डे’को हुनेछ । 

महानगर स्रोतका अनुसार  शुक्रबार नै महानगरप्रमुखको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । 

शुक्रबारको कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने  तयारी छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने र असारभित्रै बजेट पास गर्ने तयारी रहेको स्रोतले बताएको छ ।