परराष्ट्रमन्त्री डा. आरजु राणा र जर्मनीका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री डा. राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारहरूमध्ये एक रहेको तथा आर्थिक, सामाजिक लगायतका क्षेत्रमा नेपालले जर्मनीको सहयोग प्राप्त गर्दै आएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकहरुप्रति धन्यवाद ज्ञापन गरीन् ।
उनले नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवर्धन गर्न सामूहिक प्रयास एवं दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखाना लगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरेकी छन् ।
त्यस अवसरमा मन्त्री डा. राणाले नेपालले २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि यसलाई सहज एवं दिगो बनाउन रणनीति बनाइरहेको जानकारी दिँदै त्यसपछि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरुबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताइन् ।
उनले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद सदस्य तथा सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा विदेशमन्त्री डेविडले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
जर्मनी नेपालका लागि युरोपको दोस्रो ठूलो पर्यटक स्रोत रहेको तथा दुई देशबीच पर्यटनको ठूलो सम्भावना रहेको भएपनि प्रत्यक्ष हवाई सम्पर्कको अभावमा यसबाट पूर्ण मात्रामा लाभ लिन नसकिरहेकाले दुई देशबीच सिधा उडानका लागि पनि मन्त्री डा. राणाले आग्रह गरीन् ।
नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्न संसदमा दुई विधेयक पेश गरेको र प्रस्तावित कानून विश्वकै उत्कृष्ट अभ्यास मात्र नभएर इयु र आइकाओको सिफारिस बमोजिम समेत रहेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि इयुको एक प्रभावशाली सदस्य राष्ट्र समेत रहेको जर्मनीसँग उनले अनुरोध गरीन् ।
यस विषयमा आफूले सक्दो सहयोग गर्ने आश्वासन जर्मनीका विदेशमन्त्री डेविडले दिइन् । सो भेटका क्रममा मन्त्री डा राणाले नेपालमा जलवायु परिवर्तनको अकल्पनीय असर परिरहेको र यसबाट देशले अनेक दुष्परिणाम व्यहोरिरहेको प्रसंग उल्लेख गर्दै नेपाले अघि सारिरहेको जलवायु न्यायको अभियानमा जर्मनीसँग पनि सहयोगको अपेक्षा गरेकी छन् ।
