प्रधानमन्त्री ओली र स्विट्जरल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।
मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए। प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुई ठूला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको रक्षाको ध्येयसहित सरकार बनेकाले स्थितिमा क्रमिक सुधार आएको बताए ।
उनले नेपालको विकासमा स्विस सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिए । भेटका अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।
