इङ्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारतको जित
काठमाडौं । इङल्याण्डविरुद्धको दोस्रो टेस्ट भारतले जितेको छ ।
गएराति सम्पन्न सिरिजको दोस्रो टेस्टमा भारत ३३६ रनले विजयी भएको हो । भारतले दिइएको ६०८ रनको लक्ष्य पछाएको इङल्याण्ड दोस्रो इनिंगमा २७१ रन बनाएर अल आउट भयो । यस अघि भारतले दोस्रो इनिंगमा ६ विकेट गुमाएर ४२७ रन बनाएपछि आफ्नो इनिंग घोषणा गर्दै इङल्याण्डलाई ६०८ रनको लक्ष्य दिएको थियो ।
भारतले इङल्याण्डमाथि पहिलो इनिंगमा १८० रनको अग्रता बनाएको थियो। दोस्रो इनिंगमा भारतका लागि कप्तान शुभमन गिलले शानदार शतकीय पारी खेल्दै १६१ रन बनाएका थिए । त्यस्तै रविन्द्र जडेजाले ६९ र ऋषव पन्तले ६५ रन बनाए । त्यस्तै के एल राहुलले ५५ रनको योगदान दिए । भारतले पहिलो इनिंगमा ५८७ रन बनाएको थियो भने इङल्याण्डले ४०७ रन बनाएको थियो ।
पहिलो इनिंगमा २६९ र दोस्रो इनिंगमा १६१ रन बनाएका भारतका कप्तान गिल खेलको प्लेयर अफ द म्याच बने । बर्मिङ्घममा भारतको यो ऐतिहासिक जित हो । भारतले यहाँ पहिले कहिल्यै टेस्ट खेल जितेको थिएन । शुभमन गिलको नेतृत्वमा रहेको भारतीय टोलीले बर्मिङ्घमको एजबास्टन टेस्ट जितेर नयाँ रेकर्ड बनाएको छ ।
एजबास्टनमा यस अघि भारतले आठ टेस्ट खेलेकोमा सात टेस्टमा हार बेहोरेको थियो भने एक टेस्ट ड्र भएको थियो । जितपछि ५ खेलको टेस्ट सिरिज १–१ ले बराबरी भएको छ । अब सिरिजको तेस्रो खेल आगामी विहिबारदेखि लर्ड्स क्रिकेट मैदानमा सुरु हुनेछ ।

.gif)