कुलिङ छानबिन गर्न संसदीय समिति बनाइने, समिति ७ सदस्यीय हुने
काठमाडौँ । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न विशेष संसदीय समिति बनाइने भएको छ ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताबीच शनिबार भएको छलफलपछि कुलिङ पिरियडबारे छानबिनको लागि संसदीय समिति बनाउने सहमति जुटेको हो । छानविन समिति संसद्को नियमावलीको १८० बमोजिम बनाउने निर्णय भएको छ । कुलिङ पिरियड छानबिनका लागि ७ सदस्यीय समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ ।
मुख्य सचेतक बर्तौलाका अनुसार समितिमा एमाले र नेपाली कांग्रेसबाट २/२ सदस्य रहनेछन् । समितिमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १/१ जना सदस्य रहनेछन् । समितिमा रहने सदस्य सोमबार सार्वजनिक गरिने भएको छ ।
