इजरायलको आक्रमणबाट गाजामा ५२ जनाको मृत्यु
काठमाडौं । गाजाका विभिन्न स्थानमा इजरायली आक्रमणमा थप ५२ जनाको मृत्यु भएको छ । एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गाजापट्टीमा युद्धकाबीच हजारौं विस्थापित नागरिकले विद्यालयमा शरण लिइरहेका छन् । पछिल्लो समय इजरायलले विद्यालयमै निशाना बनाइरहेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा युद्धविरामका लागि ९ औँ पटक मध्यपूर्वको भ्रमण पूरा गरेका छन् । युद्धविरामका लागि यो पटक पनि इजरायललाई मनाउने प्रयास असफल भएको देखिन्छ ।
सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ब्लिन्केनले ३ घण्टा लामो वार्ता गरेका थिए । इजरायलले थप शर्त तेर्स्याएपछि अमेरिका रुष्ट बनेको छ । पछिल्लो समय हमास–इजरायलले एकपछि अर्को शर्त थप्दै गएपछि मध्यस्तकर्ता देशलाई युद्धविराम गराउन थप सकस परेको देखिन्छ।
