स्थानीय पूर्वाधार विभागको जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएकाले ग्रामिण क्षेत्रमा बजेट परेको हो : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी आर्थिक वर्षका कार्यक्रमहरू ‘आयोजना वर्गीकरण मापदण्ड २०८०’ को दायरा भित्र रहेर बजेट विनियोजन गरिएको स्पष्ट पारेका छन् ।
बुधबार राष्ट्रियसभाको बैठकमा उनले मन्त्रिपरिषद् निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विभागको जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएको कारण ग्रामिण विकासका आयोजनाको लागि समेत बजेट विनियोजन गरिएको स्पष्ट पारेका हुन् । ग्रामीण क्षेत्रका आयोजनामा समेत टुक्रे आयोजनाको लागि बजेट विनियोजन गरिएको भन्दै नेपाली कांग्रेसका सांसद् नारायणदत्त मिश्रले मन्त्रालयको नाम ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिए ।
उपप्रधानमन्त्री सिंहका अनुसार उक्त विभागअन्तर्गत ग्रामिण सडक लगायतका कार्यक्रमहरू विगतदेखि नै कार्यान्वयन हुँदै आएको हुँदा त्यस्ता कार्यक्रमका लागि बजेट विनियोजन हुनु स्वाभाविक रहेको स्पष्ट पारे ।
