मुलुकमा शान्ती सुरक्षा, सुशासन र विधिको शासन कायम गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय पूर्णरूपमा प्रतिवद्ध रहेको बताएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजित शिर्षकमाथि सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कानूनको कार्यान्वयन, सुशासन र विधिको शासनलाई प्रभावकारी बनाउन गृह मन्त्रालय मातहतका निकायहरु सक्रिय रहेको बताएका हुन् । उनले सबै सुरक्षा निकाय न्युनतम स्रोत साधनमा सीमित भए पनि अपराध नियन्त्रण, अनुसन्धान तथा अभियोजनका कार्यमा दत्तचित्त भएर लागिरहेको बताए ।
लेखकले अगामी आर्थिक वर्षका लागि बजेटमा दुवै सुरक्षा निकायको पूर्वाधार विकासका ४० करोड रुपैयाँ विनियोजन गरिएको समेत बताए । संघ, प्रदेश र स्थानीय तहको आपसी सहकार्यमा सुरक्षा निकायका भौतिक पूर्वाधार विकास गर्न साझेदारीमा काम गर्ने योजना अघि बढाएको उनको भनाइ छ ।
