पाकिस्तानमा भारी वर्षाका कारण १९ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा सोमबारदेखिको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पुर्याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार जुलाई-१ देखि अगस्ट-१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् ।
पिडिएमएका अधिकारी युनस मेङ्गलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताएका छन् । बलुचिस्तानले जुलाई-१ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्यूजले जनाएको छ ।
