राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको बताएका छन् ।
आज कांग्रेस नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालका राजनीतिक दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको बताएका हुन् ।
‘तबसम्म हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ’, नेपालले भने, ‘हामी त्यो अनुरुप रूपान्तर हुँदैनौँ भने अरूलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौँ ।’ उनले प्रदूषित राजनीतिलाई परिवर्तन गर्ने जिम्मेवारी नेता र दलहरूमा आएको पनि बताए । उनले समाजवादको भिन्न–भिन्न परिभाषा हुने गरेको भन्दै आफूहरूले भनेको समाजवाद एकदलीय वा दुई दलीय व्यवस्थाबाट सम्भव नहुने बताए । \
कार्यक्रममा नेपालले स्व. गिरीले नेपाली राजनीति र समाजमा पुर्याएको योगदानको चर्चा गर्दै गिरीको अभाव खड्किएको अनुभव भइरहेको बताए ।
