नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन् ।
बुधबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताए । उनले नेपाल दक्षिण एसियामा सार्वजनिक सेवा प्रशारण ऐन कार्यान्वयन गर्ने अग्रणी देशमध्ये रहेको दाबी गरे ।
उनले सार्वजनिक सेवा प्रशारण ऐन बन्ने क्रममा रहँदा नै गोरखापत्र दैनिकमा ४५ भाषामा अतिरिक्त समाचार सामग्री प्रकाशित भइरहेको बताए । उनले रेडियो नेपालबाट २५ वटा नेपाली भाषामा समाचार प्रशारण भइरहेको र राष्ट्रिय समाचार समितिले मैथिली र नेपाल भाषामा समाचार समेटिसकेको जानकारी दिए ।
उनले चाँडै तामाङ भाषामा पनि समाचार शुरु गर्ने बताउँदै नेपालमा बोलिने सबै भाषाको रासस बनाउने लक्ष्य रहेको जिकिर गरे । मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाललाई पनि सबै भाषामा कार्यक्रम प्रसारण गर्ने दिशामा लैजाने योजना रहेको बताएका छन् ।
