पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन
काठमाडौं । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा समाजवादी चिन्तक ढुण्डीराज शास्त्री (पौडेल) को निधन भएको छ । काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा ९० वर्षीय शास्त्रीको सोमबार बिहान ४ बजेतिर निधन भएको हो ।
उनका श्रीमती, २ छोरा र २ छोरी छन् । छोराहरू देश बाहिर रहेकाले उनीहरू आएपछि अन्तिम दाह संस्कार गरिने जनाइएको छ । उनी बनारसमा २०१० मा पढदादेखि नै नेपाली कांग्रेससँग आवद्ध थिए ।
२०१४ सालमा नेपाली कांग्रेसले सुरू गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँचीको अगुवाइ गर्दै पाल्पा तानसेनमा भाग लिएका थिए । २०१५ सालको आम निर्वाचनमा सक्रियरूपमा लागेका २०१७ साल पौष १ गते राजा महेन्द्रले संसद भंग गरी नेताहरूलाई जेल हाल्ने क्रममा गुल्मी अर्घाखाँचीका लडाकु युवाहरूलाई क्रान्तिमा संलग्न गराउने कार्यमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए ।
उनले भूमिगतरूपमा अर्घाखाँची गुल्मीलगायतका जिल्लामा नेपाली कांग्रेसको संगठन विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । उनले २०३६– र २०४६ सालको जन आन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेको छ । २०४८ सालमा भएको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं।२ बाट भारी मतले विजयी भएपछि उनी उद्योग मन्त्री बनेका थिए।
