एसइई नतिजा प्रकाशन असारभित्रै हुने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही असारभित्रै प्रकाशन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असारभित्रै प्रकाशन हुने गरि काम गरिरहेको जनाइएको छ । अहिले परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर केन्द्रमा आउने क्रम जारी छ ।
२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो । प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो । तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक र कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए ।
आन्दोलन अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुन शिक्षकहरूलाई उर्दी जारी गरेपछि उत्तरपुस्तिका परीक्षणको काम रोकिएको थियो ।
उनीहरूको आन्दोलन २९ दिनसम्म चल्यो । गत वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि भने शिक्षकहरू घर फर्किएका थिए । त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले । नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो । रोकिएको एसइई उत्तरपुस्तिका परीक्षण कार्य पनि सुरू भएको थियो ।
शिक्षक आन्दोलनका कारण एसइई नतिजा प्रकाशनमा ढिला हुने भएको हो । अघिल्ला वर्षहरूमा एसइई परीक्षा नतिजा असार दोस्रोरतेस्रो हप्तामा प्रकाशित हुने गरेको थियो । तर,यो समयमा यस पटक भने आन्दोलनका कारण एसइई नतिजा प्रकाशन हुने सम्भावना नदेखिएको परीक्षा बोर्डले जनाएको छ ।

.gif)