कांग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराए : अग्नि सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको विकल्प नरहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश बनाउनका लागि आफूहरुले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको बताए ।
उनले माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको बताएका छन् । उनले अहिले जनता काँग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खालि भएको जिकिर गरे ।
उनले कांग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी भएको आरोप समेत लगाए । उनले एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शीर निहुराएर लज्जावोध गर्ने गरेको बताएका छन् ।
