संसदलाई अवरुद्ध गर्नु जनताको अधिकार वन्धक बनाउनु होः काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताउनुभएको छ । सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद अवरुद्ध गरिनु राम्रो नरहेको बताउनुभयो । उहाँले रास्वपाले समय तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाउने माग राखेको र गृहमन्त्री रमेश लेखकले संसदमा सम्बोधनका क्रममा एक महिनाभित्र प्रक्रिया अघि बढाउने बताइसकेपछि पनि संसद अवरुद्ध पार्नु राम्रो नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुले आफ्नो पार्टीको आफ्नो धारणाहरु राख्न पाइएला । यसमा हामीले केही भन्नु छैन । उहाँहरु पनि लगभग सहमतिमा आउनुभएको विषय थियो । उहाँहरुले टाइम तोकियोस् भन्नुभएको थियो । गृहमन्त्रीले पछि बोल्दा म ३० दिन भित्रमा कार्य प्रारम्भ गर्छु भन्नुभयो । टाइमफ्रेम पनि तोकिदिनुभयो । अब चाहियो के रु उहाँहरुले विशुद्ध रुपमा आफ्नो सभापतिसँग जे भयो त्यो आरोप गृहमन्त्रीमाथि लगाएर उहाँहरुले प्रतिशोध लिन खोज्नुभएको हो भन्ने बुझ्न गाह्रो भएन । यसमा अरु केही कुरा भएन ।’
प्रमुख सचेतक घिमिरेले प्रतिशोध साध्ने हिसावले संसदलाई प्रयोग गर्न नमिल्ने बताउनु भयो । उहाँले संसदलाई अवरुद्ध गर्नु र वन्धक बनाउनु भनेको सार्वभौम आम जनताको अधिकार वन्धक बनाउनु रहेको बताउनु भयो । संसद आफ्नो नियमावलीअनुसार सञ्चालन हुने बताउनुभयो ।
