प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ः०० बजे बस्ने तय भएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । सहमतिका लागि दलहरूबीच पटक(पटकछलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन ।
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेश गर्ने कार्यसूची छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।
