भिजिट भिसा प्रकरणले बन्धक बन्यो प्रतिनिधिसभा

काठमाडौं । प्रतिनिधिसभा भिजिट भिसा प्रकरणले बन्धक बनेको छ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा समिति बनाएर छानविन गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान लिएपछि बैठक अन्योलमा परेको छ ।
बजेटबारे छलफल गर्नुपर्ने महत्वपूर्ण बेला प्रतिनिधिसभा अवरुद्ध हुँदा संसदमा जनसवालका पक्ष उठान हुन पाएको छैन । सभामुख देवराज घिमिरेले संसद अवरोध खुलाउन दलका प्रमुख सचेतकसँग विभिन्न पटक छलफल गरे पनि त्यो सार्थक भएको छैन । सभामुखसँगको छलफलमा विपक्षी दलका सचेतकहरुले समस्या समाधानको लागि भिजिट भिसा प्रकरण छानविनको लागि संसदीय समिति बनाउनु पर्ने र गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनैपर्ने शर्त तेस्र्याएका छन् ।
सभामुखको साताको प्रयासपछि प्रतिनिधिसभा बैठक सोमबार खोलिएको थियो तर बैठक शुरु हुना साथ विपक्षी सांसदहरुले पुरानै अडान लिएर अवरुद्ध पारे । सभामुखले त्यसपछि बैठक आधा घण्टाको लागि स्थगन गरेर दलका नेताहरुसँग सवाद गरी संसद सुचारु गराउनु प्रयत्न गर्नुभएको थियो तर प्रयास सफल भएन । विपक्ष दलले प्रतिनिधिसभामा अवरोध जारी राखेपछि सभामुखले बैठक आउने बुधबार दिउँसो १ बजेको लागि आव्हान गर्नुभएको छ ।
रास्वपाले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएको छ । तर माओवादी केन्द्रले मध्यमार्गी प्रस्तावको बाटोमा जानुपर्ने बताएको छ । संसद्मा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको छ । तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो ।