नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरुले अझै अस्थिरता सिर्जना गराइरहेका छन् : सांसद् भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद् गोपाल भट्टराईले मुलुकमा प्रतिगामीहरुको चहलपहल कायम रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा रहेको बताएका हुन् । उनले प्रतिगामी शक्तिहरुको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा रहेपनि जनसहभागिता कमजोर भएसँगै असफल हुँदै गएको दाबी गरे ।
जसरी गिरिबन्धु, यति, ओम्नी लगायतमा भ्रष्टाचारका कुराहरु आएको धेरै वर्ष भइसकेको भन्दै सांसद् भट्टराईले त्यस अवधिमा सबैको सरकार बनेपनि त्यसको छिनोफानो गर्ने निकायहरुलाई जिम्मा दिने भन्दै प्रश्न गरेका छन् । उनले जनतालाई भ्रममा पार्ने र लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
सांसद् भट्टराईले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह गर्नेतर्फ भन्दा पनि प्राप्त उपलब्धीहरु जनतासम्म पुर्याउने गरी काम गर्न आग्रह गरेका छन् ।