नेशन्स लिगको उपाधि पोर्चुगलले जित्यो

काठमाडौं । युइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५–३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेलमा २/२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त सम खेलाइएको थियो । अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।
पोर्चुगलका लागि नुनो मेन्डिस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे भने स्पेनका लागि मार्टिन जुबीमेन्दी र मिकेल ओयारजाबाईले गोल गरेका थिए ।
२०२३ संस्करणका विजेता स्पेनले २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो ।
तर त्यो अग्रता धेरै समय टिक्न सकेन। पाँच मिनेटमै नुनो मेंडेसले कुनाबाट गरेको तीव्र प्रहारले उनाई साइमनलाई पराजित गर्दै बराबरी गोल गरे । गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए ।
पहिलो हाफमा २-१ अगाडि रहेको स्पेन खेलको ६१औँ मिनेटमा पोर्चुगलले बराबरी गोल गरेको थियो ।