पूर्वराष्ट्रपतिको सक्रियताले आत्तिँदै ओली, विद्याको गुट निस्तेज पार्न निर्देशन
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेको भावी नेतृत्व लक्षित सक्रियताले प्रधानमन्त्री केपी शर्मा ओली अत्तालिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार यस्तै खालको अभिव्यक्ति दिनुभएको छ । ‘अर्को खेल हुन खोजेको छ यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो यस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन’ उहाँले भन्नुभयो– ‘अनि यो बाहिर बाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरुलाई सोझै इन्कार गर्नुस् । यस्ता खालका कुरा नगर्न त्यस्ताहरुलाई जवाफ दिनुस् । स्टाटस, सिस्टाटसलाई पनि जवाफ दिए हुन्छ ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय नेकपा एमालेको नेतृत्व लिन सक्ने गरी सक्रियता देखाइरहनुभएको छ । भण्डारी राष्ट्रपतिको कार्यकाल सकिए लगत्तै घुमाउने ढंगले एमालेको राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले विभिन्न जिला पुगेर पार्टीका स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुको भेटघाटलाई तीब्रता दिइरहनु भएको छ । चीन भ्रमणबाट फर्किए लगत्तै पूर्वराष्ट्रपति भण्डारी यतिखेर झापा र मोरङतिर नेता तथा कार्यकर्तासँग छलफलमा व्यस्त हुनुहुन्छ । पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व लिन सक्ने गरी सक्रिय देखाएपछि अध्यक्ष केपी शर्मा ओली भने अत्तालिन थाल्नुभएको छ ।
प्रधानमन्त्री समेत रहनुभएका ओलीले आइतबार अनेरास्ववियुको महाधिवेशन उद्घाटन गर्नेक्रममा पूर्वराष्ट्रपति भण्डारीलाई पुनःराजनीतिमा फर्काउनेबारे पार्टीमा कुनै छलफल नै नभएको बताउनुभएको छ । ओलीले पूर्वराष्ट्रपतिको नाम नलिइ घुमाउरो पारामा भण्डारीले पछिल्लो समय एमालेमा बेग्लै गुट बनाइरहेको भन्दै असन्टुष्टि समेत व्यक्त गर्नुभएको छ । ओलीले पूर्वराष्ट्रपति भण्डारीको नाममा भइरहेको गुटको प्रतिकार गर्न समेत आफ्नो पक्षधरलाई निर्देशन समेत दिनुभएको छ । ‘अहिले हल्ला चलेको छ । तल तल यो ग्रुप भनेका छन् त्यो ग्रुप भनेका छन् । यो ग्रुप र त्यो ग्रुपको कुनै आवश्यकता छैन’ उहाँले भन्नुभयो– ‘ यस्ता कुरालाई तपाईंहरुले सुन्ने बित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुस् । फलानाका ग्रुप, यसका ग्रुप त्यो छोडिदिनुस् ।’
पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व लिन तत्परथा देखाएपछि ओलीले पार्टीको ११ औँ महाधिवेशन हुने वा हुनेबारे कुनै ठेगान नै नभएको समेत बताउनुभएको छ । बाँचुन्जेल एमालेको अध्यक्ष बन्ने चाहना राख्नुभएका ओलीको लागि पूर्वराष्ट्रपति भण्डारीको सक्रियता टाउको दुखाई बनेको छ । अहिले महाधिवेशन घोषणै भएको छैन । ‘महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन । छलफल भएको छैन’ उहाँले भन्नुभयो– ‘ को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष ?’
