संसदको गतिरोध हटाउन सभामुखको प्रयास जारी, दलका प्रमुख सचेतकहरूसँग छलफल हुँदै
काठमाडौं । सभामुख देवराज घिमिरे संसद खुलाउन दलहरूसँग छलफलमा छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा तथा छानबिनका लागि उच्चस्तरीय आयोग माग गर्दै विपक्षी दलहरूले १३ जेठदेखि सदन चल्न दिएका छैनन् ।
पटक-पटक स्थगित गरिँदै आइएको बैठक आइतबार भने सञ्चालन गर्ने प्रयास स्वरूप सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गरिरहेका उनको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
यही जेठ १५ गते संसदको संयुक्त बैठकमा बजेट भाषण भएयता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन । संसद सुरु हुन नसकेपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । प्रतिनिधिसभा बैठक १ बजेका लागि तय गरिएको छ ।
