माधव नेपालको मुद्दामा ओलीको प्रतिशोधको गन्ध : प्रचण्ड
काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियारले चलाएको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन् ।
अध्यक्ष दाहालले शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग संक्षित कुरा गदै यस्तो बताएका हुन् । ‘यसमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ । अख्तियारको कदमले पनि केही प्रश्न त उठेको छ’ उनले भने– ‘कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि जे प्रश्न उठेको थियो( अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन जे गर्नु छ क्याबिनेटले नै गरोस् भनेर चिठी लेखेको मैले नै हेरेको छु । अहिले पनि माधवजीले नीतिगत निर्णय नै गरेको हो । २०६४ सालपछिका सबै प्रधानमन्त्री र मन्त्रीमाथि छानबिन गर्न हामीले नै भन्दै आएका छौँ तर यो नीतिगत र सैद्धान्तिक रूपले सही हो वा होइन भन्ने प्रश्नचाहिँ हो ।’
अध्यक्ष दाहालले मुद्दा दर्ता भए पनि अदालतले सफाइ दिनेमा स्वयं नेपाल र आफू पनि विश्वस्त रहेको बताएका छन् । पहिला मन्त्रिपरिषद्का निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर पन्छिएको अख्तियारको पछिल्लो कदमले प्रश्न पनि उब्जिएको दाहालको भनाई छ । ‘स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा गर्नु भएको छ, उहाँले अदालतप्रति पनि भरोसा देखाउनु भएको छ । अदालतले न्याय गर्छ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ’ उनले भने– ‘छिट्टै सफाइ पाएर फर्किन्छु भन्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ । मैले पनि उहाँले सफाइ पाउनुहुन्छ होला भन्ने विश्वास गरेको छु ।’
अध्यक्ष दाहालले यो प्रकरण आफूलाई पूर्नप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत फोन गरेर सोधेको जानकारी गराए । ‘देउवाजीले हिजो फोन गर्नुभएको थियो । माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो । त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘के भएको हो भनेर ? शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैं आश्चर्यमा परेँ ’ उनले भने– ‘मैले चाहिँ तपाईंलाई पो थाहा हुनुपर्छ भनेँ । उहाँलाई पनि थाहा नभएको बुझेँ मैले ‘देउवाजीसँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझेँ।’
