वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्छ : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्ने बताएका छन् ।
डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा उनले यस्तो बताएका हुन् । उनले काठमाडौं, पोखरा, विराटनगरजस्ता घना जनसङ्ख्या भएका शहरहरूका नगर तथा महानगरहरूले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए ।
उनले महानगरमा घना बस्ती भएका कारणले फोहोरहरू बढी उत्पादन हुने बताउँदै त्यसलाई नियन्त्रण गर्ने सम्बन्धमा कामहरू गर्नुपर्ने जिकिर गरेका छन् । मन्त्री दाहालले वातावरण संरक्षणको लागि पालिका र सरकारले पहल गरेर मात्रै नहुने बताउँदै जनताले पनि साथ दिनुपर्ने बताए । उनले आम जनताले साथ नदिए सफलतामा पुग्न नसकिने जिकिर गरे ।
