संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौं । सघीय संसदको दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने छ ।
प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ । तर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित विपक्षी दलहरुले गत जेठ १३ गतेबाट प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका छन् । उनीहरुले जेठ १५ मा बजेट पेस गर्न भने दिएका थिए । तर, त्यसपछि निरनतर अवरुद्ध संसद आज पनि चल्ने सम्भावना न्यून रहेको छ ।
यसैगरी राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
