sevenstartv.com २० वैशाख २०८३, आइतवार

बालुवाटारमा चोखिएका नेपाल पतन्जलीमा कसरी झोसिए ?

२२ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । बालुवाटार जग्गा हिनामिना प्रकरणमा चोखिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पतन्जली केसमा फेरि भ्रष्टाचारमा झोसिएका छन् । अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतन्जली जग्गा बिक्री प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दासँगै नेता नेपालको सांसद पद निलम्बन भएको छ । 

राजनीतिमा विगतमा निश्कलंकित र सरल नेताको छवि बनाएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पछिल्लो समय एकाएक भ्रष्टाचार प्रकरणमा तानिन थालेका छन् । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा चोखिएका पूर्वप्रधानमन्त्री नेपाललाई अहिले फेरि पतन्जली प्रकरणामा मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेकपा एकीकृत नेपाल अध्यक्ष समेत रहेका नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । 

एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको आरोप लगाएको छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसालले पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको भन्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताएका छन् । ‘मुद्दाको सम्बन्धमा दुईवटा पक्ष छन् । एउटा, यसको राजनीतिक पक्ष छ । दोस्रो, यसको कानुनी पक्ष छ’ उनले भने– ‘राजनीतिक प्रतिशोध साधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं । कानुनी पक्षको कुरामा हामी कानुनी हिसाबमा नै प्रतिवाद गर्छौं ।’

पतन्जली प्रकरणमा अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ । भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो । योसँग निलम्बित सांसदको संख्या ४ पुगेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभाका ४ सांसद निलम्बनमा रहँदा अर्का १ जना फरार रहेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्