माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण स्थगित
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वनिर्धारित मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान तत्काललाई स्थगित गरेको छ ।
पदाधिकारी बैठकले पहिलो चरणको अभियान प्रभावकारी भएको निष्कर्ष निकाल्दै जेठ २१ गतेदेखि २५ गतेसम्म दोस्रो चरणको अभियान चलाउने निर्णय गरेको थियो । तर अब बर्खाको मौसम लागेकाले तत्काललाई अभियान स्थगित गरिएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले जनाकारी दिनुभयो । उहाँका अनुसार अभियानको अर्को मिति अहिले तय भएको छैन ।
तराईं मधेश जागरण अभियानपछि हौसिएर माओवादीले दोस्रो चरणमा मध्यमहाडी लोकमार्ग केन्द्रित अभियानको थालनी गरेको थियो । माओवादीले सरकारबाट बाहिरिएपछि चलाएका दुई अभियानले जनतामा पार्टीलाई जोड्न महत्त्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालेको छ ।
