विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्छ : रााष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनु भएको छ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनु भएको हो । यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध भएको बताउनु भएको छ ।
सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरूद्ध दृढतापूर्वक उभिदैँ लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्ने सन्देशमा उल्लेख छ ।
