जनताको बलिदानबाट स्थापित व्यवस्थामाथि प्रश्न उठ्नु सामान्य होइन : सांसद् दाहाल
काठमाडौं । राष्ट्रिय सभा सांसद् तुलसाकुमारी दाहालले जनताको बलिदान र संघर्षबाट स्थापित व्यवस्थामाथि प्रश्न उठ्नु सामान्य कुरा नभएको बताकी छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा सांसद् दाहालले राजनीतिक क्षेत्रमा देखिएका यस प्रकारका दृश्य र तरंगलाई विश्लेषण गर्ने समय आएको बताएकी हुन् । उनले हाल संविधान र व्यवस्थाप्रति फैलाइएको अफवाह, संघीय लोकतन्त्र र गणतन्त्रको विरोधमा मिथ्या आरोप लगाउने काम भइरहेकाले राजनीतिक दल र नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिएकी छन् ।
एक आपसमा हिलो छ्याप्ने काममात्र गर्ने हो भने प्राप्त उपलब्धिको रक्षा गर्न नसकिने भन्दै जनताको आन्दोलनमार्फत विस्थापित भएको व्यवस्था अमुक व्यक्तिलाई अघि सारेर समाजलाई इतिहासमा फर्काउने दुष्प्रयास भइरहेको सांसद् दाहालको टिप्पणी थियो । उनले अहिले देखिएका असन्तुष्टिलाई राजनीतिक दल, तीनका नेतृत्वले गरेको प्रतिबद्धता र ओहोदामा बस्नेले जिम्मेवारी पूर्वक पूरा गर्नुपर्नेमा जोड दिइन् ।
