कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ
काठमाडौं । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा उनलाई शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरीएको हो ।
बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए । बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए ।
२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए ।
रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ । सल्यानका राय पछिल्लो समय बाँकेका स्थायी बासिन्दा हुन् । सीआईबीका प्रमुख खापुङका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत अनुसन्धानको दायरामा परेका छन् ।
उक्त प्रकरणमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका एआईजी खापुङले बताए ।
