sevenstartv.com २० वैशाख २०८३, आइतवार

सुन्दर प्लाइउडका सञ्चालकविरुद्ध मुद्दा दायर

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । राजस्व अनुसन्धान विभागले भैरहवाको सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व छली, चोरी पैठारी अभियोगमा बिगो र जरिवानासहित एक करोड बढी रकम असुल र सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको हो ।

सिद्धार्थनगर नगरपालिका, वडा नं ८ लुम्बिनी गेटस्थित सुन्दर प्लाइउड सेन्टरका सञ्चालक अग्रहरीले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड क, ख, छ र झ बमोजिम कसूर गरेको पुष्टि हुन आएको दाबी छ ।

विभागका अनुसार भन्सार चोरी पैठारीतर्फको अधिक मौज्दातको बिगो तीन लाख २५ हजार ८०७ रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फको न्यून मौज्दातको बिगो १५ लाख ६९ हजार २३६ रुपैयाँ र आय करतर्फको बिगो ३१ लाख ८० हजार ३२५ रुपैयाँ गरी कुल ५३ लाख २७ हजार ६८६ रुपैयाँ बिगो कायम गरिएको हो ।

कायम भएको बिगो असुल उपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी कुल एक करोड ६ लाख ५५ हजार २९२ रुपैयाँ असुल उपर गर्न तथा ऐनको दफा २३ (१) (ख) वमोजिम कैद सजाय मागदाबी गरेर उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्