आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पायो : अध्यक्ष मगर
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेको सिफारिसहरू न्युन मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
मंगलबार आयोगको २५ औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले आयोगले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सिफारिस गर्दै आएको भए पनि गरिएका सिफारिस कार्यान्वयन न्यून रहेको बताएका हुन् । उनले क्षतिपूर्तिको हकमा केही कार्यान्वयन भए पनि कारबाहीका लागि गरिएका सिफारिसहरू कार्यान्वयन नभएको गुनासो गरे ।
उनले कारबाहीका लागि आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाएको जिकिर गरेका छन् । अध्यक्ष मगरले चालु आर्थिक वर्षको हालसम्म ५८ वटा मानवअधिकारको उल्लङ्घनसम्बन्धी उजुरी दर्ता भएको र सो अवधिमा एक सय ६४ वटा उजुरीहरू फछ्र्यौट गरिएको जानकारी दिए ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सिर्जना भएका दायित्वहरू सरकारबाट कार्यान्वयन हुन सके मात्र मानवअधिकारको उपयोगितामा सहजता आउने धारणा राखेका छन् ।
