प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ ।
बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पेस गर्नेछिन् ।
