'गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम मात्रै भयो'
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताएका छन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोईरालाले बैठकमा गृहमन्त्रीको प्रष्टिकरणपछि उहाँको चरित्र हत्या गर्ने काम भएकोप्रति आफु स्पष्ट भएको बताएका हुन् ।
गृहमन्त्रीले एक इन्चपनि गल्ती नगरेको र उहाँमाथि लगाइएका सबै आरोप गलत भएको दावी गर्दै मंगलबारको संसदमा गृहमन्त्रीले जवाफ दिने जानकारी दिए । नेता कोईरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताएका छन् ।
प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता कोईरालाले नेपालका लागि अहिले विकास र स्थिरता चाहिएकाले मुठभेडको राजनीतिले कसैलाई फाइदा नपुग्ने बताए । उनले च्यालेन्ज फेस गर्दै निश्चित बाटो निकाल्न सक्नु नै आजको आवश्यकता भएको स्पष्ट पारेका छन् ।
