विश्वकप पुग्न यूएईलाई जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल थाइल्याण्डको बैंककमा बिहान पौने ९ बजे सुरु हुनेछ ।
थाइल्याण्डमा जारी छनोटमा नेपाल ग्लोबल छनोटमा पुग्नबाट मात्रै एक जित टाढा छ। यदि, नेपालले आज खेलमा यूएईलाई हराउन सके नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
यसअघि ग्लोबल छनोटमा पुग्न नसकेको नेपाल यूएईलाई हराएर अर्को चरणमा पुग्ने अवसर छ । एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन् । शीर्ष तीनबीच भइरहेको खेलअन्तर्गत आइतबार भएको यूएई र थाइल्याण्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो।
आज यूएईले अन्तिम खेलमा नेपालको सामना गर्नेछ । यदि, नेपालले जित हात पारे एक खेल अगावै ग्लोबल छनोटमा पुग्नेछ । यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो । त्यसपछि नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो ।
नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो। एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो ।
