बागमतीका निलम्बित मेयर थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा लागेको छ । उनीसँगै मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ ।
बागमती नगरपालिका वडा नं. ४ र १२ मा गैरकानूनी रूपमा वन क्षेत्र अतिक्रमण गरी माछापोखरी बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । बागमती नगरपालिकाले सागरनाथ वन विकास परियोजना अन्तर्गतको मुर्तिया वन क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा, माटो जस्ता वन पैदावार अवैध रूपमा उत्खनन गरेको दाबी अख्तियारको छ ।
वन पैदावार निकासीपछि परेको खाल्डोमा माछापोखरी निर्माण गरेको खुलेको छ । संघीय तथा प्रदेश सरकारको करोडौँ अनुदान रकम खर्च गरेर संरचना निर्माण गरिए पनि त्यसका लागि आवश्यक वातावरणीय अध्ययन भएको थिएन । अख्तियारका अनुसार कुनै कानुनी प्रक्रिया पनि पूरा नगरिएको भेटिएको छ । अख्तियारको अनुसन्धान अनुसार, बागमती नगरपालिकाले नेपाल सरकारद्वारा गठित सागरनाथ वन विकास परियोजनाको पटक-पटक चेतावनीलाई अटेरी गरी जबरजस्ती निर्माण अगाडि बढाएको खुलेको छ ।
परियोजनाले संरक्षण गरिरहेको राष्ट्रिय वन क्षेत्रमा सरकारको स्वीकृतिबिना सामाजिक तथा भौतिक संरचना निर्माण गर्न नमिल्ने प्रावधानलाई उल्लंघन गरिएको आयोगले जनाएको छ । मधेश प्रदेश सरकारले पटक–पटक अनुदान रकम उपलब्ध गराउँदा पनि त्यस रकमको प्रभावकारी उपयोग नभएको, माछा नभएको माछापोखरी निर्माण गरिएको र थप रकम माग गरेको खुलेको छ ।
विशेषगरी आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमारले २०७८ असार ६ गते आफैंले स्थानीय तहको प्रशासकीय अधिकृतसँग एमओयूमा हस्ताक्षर गरी ३० करोड अनुदान दिने निर्णय गरेकोसमेत उजुरीमा उल्लेख छ । अख्तियारका अनुसार, प्रतिवादीहरूले आर्थिक वर्ष २०७५र७६ देखि २०७९र८० सम्म जम्मा ५६ करोड ७१ लाखभन्दा बढी रकम हानिनोक्सानी एवं दुरुपयोग गरेका भेटिएको छ ।
यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ र त्यसको संशोधित ऐन २०८१ को दफा १७ अनुसार कसूर ठहरिएको अख्तियारले जनाएको छ । अख्तियारले सम्बन्धित पदाधिकारीहरूमाथि कानुनी कारबाहीसहित सबै गैरकानूनी संरचना जफत गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।आयोगले थापा र पूर्वमन्त्रीविरुद्ध आइतबार ५६ करोड ७१ लाख ७ हजार दुई सय ९९ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । यो मुद्दामा थापासहित विभिन्न ८ जनालाई प्रतिवादी बनाएर फरक–फरक बिगो कामय गरी माग दाबी गरिएको छ ।
मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमारलाई २९ करोड ९९ लाख ८६ हजार १३५ बिगोग मागदाबी गरिएको छ । बागमती नगरपालिकाकी पूर्वमेयर लीलाकुमारी मुक्तान भने निलम्बित मेयर थापाकै जति ५६ करोठ ७१ लाख बिगो कायम गरिएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मधेश प्रदेश सरकार अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेललगायतलाई पनि यो मुद्दामा विपक्षी बनाइएको छ ।
यसअघि २०८१ जेठ २९ मा आयोगले थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार ८९७ रकम अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
