माओवादीसँग सहकार्य गरेर जाने कुनै योजना छैन : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर जाने कुनै योजना नरहेको प्रष्ट पारेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माओवादी केन्द्रसँग सहकार्य गरेर जाने कुनै पनि योजना नरहेको प्रष्टीकरण दिएका हुन् ।
माओवादीसँग गठबनधन गरेर जाने भन्ने कुनै पनि योजना र एजेन्डा छैन । प्रतिपक्षी दलका नेताहरूसँग भेटघाट, कुराकानी, फोन संवाद त हुन्छ नै,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभापति शेरबहादुर देउवासँग गरेको टेलिफोन वार्ताबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘यो कुरालाई सामान्य अर्थमा लिनुपर्छ । सरकार परिवर्तनका विषयमा कुनै पनि सोच र योजना कांग्रेसले राखेको छैन ।’
प्रमुख सचेतक घिमिरेले बजेटलगायतका विविध विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको बताए । बैठकमा केही सांसदहरूले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतविरुद्ध दायर भएको मुद्दा र सांसद माया राई पक्राउको विषयमा पनि कुरा उठेको थियो ।
‘सांसद् मोहनबहादुर बस्नेत र माया राईको कुरा पनि बैठकमा सांसद्हरूले उठाए । यस विषयमा सभापतिले भने, ‘राजनीतिमा यस्तै हुन्छ । हामी पनि जेल बसेरै आएका हौँ । थुनामा बसेर आएका हौँ भन्ने कुरा उनले राखे । यो विषयलाई ठूलो अर्थमा लिनुहुँदैन, हामी पनि बसेर आएका हौँ ।’
