राजनीति सही ढंगले परिचालित भए व्याप्त निराशा चिर्न सकिन्छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजनीति सही ढंगले परिचालित भए व्याप्त निराशा चिर्न सकिने बताएका छन् ।
काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्योगीहरुका माग र मुद्दाहरु सम्बोधन गर्दा दलाल, विचौलियासँग सरकारको मिलोमतो छ भन्ने गरिएकोप्रति आपत्ति जनाए ।
उनले अर्थतन्त्र चलायमान बनाउन सरकारले केन्द्र भागमा राखेर काम गरिरहेको उल्लेख गरेका छन् । उनले अहिले राजनीतिक कार्यकर्ताहरुलाई ‘झोले’ र निजी क्षेत्रलाई विचौलिया र दलाल भन्ने गरिएकोप्रति असन्तुष्टि जनाए ।
उनले खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको बताए । सरकारले आगामी बजेटमा निजी क्षेत्रका माग र मुद्दा समेटिने पनि प्रतिवद्धता जनाएका छन् ।
