हेर्नुहोस आजका मुख्य सात समाचार
सुप मुख्यमन्त्री नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहले कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुख मियाँले आइतबार साझ शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतार बेलुका ५ बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका थिए । केन्द्रमा भएको नयाँ सत्ता समीकरण र सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाएको हो ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत जुटाउन २७ जना सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ जना सांसद हुँदा सहज बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाएको छ । शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
कर्णाली मन्त्री शपथ
कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी नियुक्त भएका थिए । ८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ मन्त्रालय कांग्रेसले पाएको छ ।
कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्टन्टबाजीका रुपमा आफूहरुले कुनैपनि काम नगर्ने बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको विषय उठाउँदा आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।
पार्टी मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले सरकार र सत्तारुढ गठबन्धनले कुनैपनि खालको भ्रम सृजना गर्नेगरी काम नगर्ने बताए । उनले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे ।
उनले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोशिस भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले समृद्ध नेपालः सुखी नेपाली बनाउने लक्ष्य अनुरूप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको बताए । प्रधानमन्त्री ओलीले देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्य अनुसार सरकार अघि बढिरहेको दाबी समेत गरे ।
भोटो देखाइयो
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा भोटो देखाइएको गुठी संस्थानले जनाएको छ । भोटो जात्रालाई झन्डै आठ सय वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।
भूत, प्रेतलाई खाना दिन यो जात्रा गर्ने गरिएको विश्वास छ । भोटो जात्रा कहिलेदेखि शुरू भयो भन्नेमा यकिन तिथि–मिति नभए पनि मच्छिन्द्रनाथको यात्रा भने झन्डै एक हजार तीन सय वर्षअघि नै शुरू भएको हो । भोटे जात्राको अवसरमा आइतबार उपत्यकामा बिदा दिइएको थियो ।
हत्या अभियोगमा श्रीमतीसहित दुई जना पक्राउ
काठमाडौं महानगरपालिका-७, कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्। महतको आइतबार बिहान हत्या भएको प्रहरीको भनाइ छ।
पक्राउ परेकी ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा नेपाली प्रेमकी श्रीमती हुन्।
अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन् । लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको उल्लेख गरे ।
उनले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउने बताए । उनले मुलुक आर्थिक रुपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकारहरु जनताले उपभोग गर्न नपाउने बताए । उनले अब सामाजिक र आर्थिक रुपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित रहेको उल्लेख गरे ।
राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा शिथिलता देखापरेको उनको भनाई छ । अर्थतन्त्रको शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रियाकलापहरूलाई बिस्तार गर्ने बताए । गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताए ।
लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधरणको गिरेको मानसिकता र मनोवल उठेको पाएको धारणा राखे । उनले मौद्रिक नीतिले गरेको लचिलो नीतिगत व्यवस्थाले उठेको मनोवललाई निरन्तर लैजान आवश्यक रहेको बताए ।
उनले मौद्रिक नीतिका व्यवस्थाहरु सबै आफैँले काम नगर्ने भन्दै सबैलको दायित्व रहेको उल्लेख गरे । उनले यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याएको बताए ।
गभर्नर अधिकारीले मौद्रिक नीतिले बजारलाई चलायमान बनाउनको लागि उद्योगी व्यवसायीहरको मनोवल उच्च बनाएको भन्दै राज्यका सम्बन्ध निकायहरुले नीति अनुरूप कार्यान्वयन गर्न जरुरी रहेको बताए ।
नेपालको हार
काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार व्यहोरेको छ । इरानले नेपाललाई तीन दुईको नतिजामा हराउँदै महत्वपूर्ण जित हात पारेको हो । लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई हराउँदै इरानले सात अंक बनाएको छ । नेपालले इरान बिरूद्ध शुरूवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर बन्यो । नेपाललले पहिलो सेट १६–२५ ले गुमायो । तर दोस्रो सेटमा नेपालले सानदार शुरूवात गर्दै ७–० को अग्रता बनायो । यही अग्रतालाई निरन्तरता दिँदै दोस्रो सेट २५–१६ ले जित्दै खेललाई एक–एकको बराबरीमा पु¥यायो ।
तेस्रो सेटको शुरूवातमा नेपालले ७–२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन । इरानले ९–९ को बराबरीमा पु¥याएपछि यो सेट प्रतिष्पर्धात्मक बन्यो । जहाँ इरानले तेस्रो सेट २५–२३ ले जित्यो र खेलमा दुई एकको अग्रता बनायो ।
चौथो सेटमा नेपाल सम्हाल्ने प्रयासमा थियो । ११–८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो । सहजै चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दा खेल दुई दुईको बराबरीमा पुग्यो ।
खेलको निर्णय पाँचौ सेटबाट भयो । पाँचौ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो । इरानले पाँचौ सेट १५–१३ ले जित्दै नेपाललाई हराउन सफल भयो । इरानले ४ खेलबाट ७ अंक बनाउँदा नेपालले तीन खेलबाट ६ अंक बनाएको छ ।
भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंक बिहिन छ । आज भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५–२२,२५–१२ र २५–१२ लाई हरायो। माल्दिभ्सको हारमा सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो ।
नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनल प्रतिद्वन्दी भने लिग चरणका खेल सकिएपछि मात्र तय हुनेछ । लिगको शिर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।
