वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा कार्यवाहक सभापति अर्यालले वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । उनले वर्षा लाग्न बाँकी रहँदै बाढीले नागरिकलाई दुःख दिन थालेको बताए ।
उनले प्रधानमन्त्री र मन्त्रीहरू हवाईजहाज र हेलिकप्टरमा सवार हुने हुँदा सडकको अवस्था जानकारी हुन नसक्ने भन्दै नागढुंगादेखि मुग्लिङसम्मको सडकको पुनःनिर्माण कछुवाको तालमा भइरहेको बताए । उनले यस पटकको वर्षायाममा नागरिकले धेरै दुःख र कष्ट भोग्नुपर्ने मात्रै होइन सानादेखि ठूलासम्म दुर्घटना हुने धेरै सम्भावना देखिएकाले सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी रहेको बताए ।
