रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेकोबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते प्रतिनिधिसभामा जवाफ दिने भएका छन् ।वैशाख १७ गते सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको नक्कली पत्रको आधारमा रेशम चौधरी पक्राउ परेका थिए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद्हरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकले २५ गते प्रतिनिधिसभामा जानकारी दिने मौखिक जानकारी आएको बताएका हुन् ।
आजको बैठकमा आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद्हरूले जवाफ दिने समयको निश्चित नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताएका थिए । संसदमा उनीहरू बोलेको सुनिन्थ्यो तर सभामुखले उनीहरूलाई बोल्न माइक भने दिएनन् ।
विरोध जनाउनुअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनको पक्राउको निष्पक्ष छानबिनको माग गरेकी थिइन् । उनीहरू उठेपछि सभामुख घिमिरेले आकस्मिक तथा शून्य समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
