'धेरै जिब्रो भएका र झुटो बोल्ने काबिल नेता मानेर सुनिरहनुपर्ने हो ?'
काठमाडौं । नेकपा एमालेका सांसद् सूर्यबहादुर थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदुषण मात्रै बढ्ने काम गरेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद् थापाले देशमा दुई ठूला दल र अन्य पार्टीहरू मिलेर पालैपालो सरकार चलाउने सहमति गरेर नीति तथा कार्यक्रम ल्याइसकेपछि पनि सरकारविरुद्धका चलखेलहरू जारी रहेको बताएका हुन् ।
उनले ‘सरकार आजै ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन’ जस्ता अभिव्यक्तिहरू आउने क्रम जारी रहेको र ती झुटा र बकवासहरू निरर्थक सावित भएको जिकिर गरे । उनले माओवादी अध्यक्ष दाहाललाई लक्षित गर्दै कति वटा जिब्रा भएका र झुटो बोल्नसक्ने काबिल नेता मानेर नेपालीहरूले सुनिरहनुपर्ने हो भन्दै प्रश्न समेत गरेका छन् ।
