नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बने : अध्यक्ष भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको बताएका छन् ।
शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ ९एनआरएनए० को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्रमा दलहरु चहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको बताए । उनले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताएमा छन् । उनले राजनीतिक दलहरुको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे ।
उनले नेपालका राजनीतिक दलहरु नयाँ रहेको र दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सिमित रहेको बताएका छन् । उनले राजनीतिक दलहरुले सरकारलाई बिना लगानी सम्पती आर्जन गर्ने माध्यम बनाएको बताए ।
राजनीतिक दलहरु विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उनको भनाइ छ । दलीय आवद्धता अब नेपालका निम्ति ठूलो बाधक बनिरहेको जिकिर गरेका छन् ।
