वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन् ।
शनिबार ललितपुरमा स्यस्यः समाज, यलको ११ औँ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए ।
उनले भएका कमी, कमजोरीलाई सुधार गरेर संविधानको मर्म र भावनाअनुरुप हरेकको जीवन र जीविकोपार्जन सहज बनाउने गरी अघि बढिरहेको जनाए । उनले नागरिकको जनजीवन सहज बनाउनका लागि राजनीतिक स्थिरताको आवश्यक भएकाले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहितका केही अन्य राजनीतिक दलको सरकार बनेको बताए ।
सबै एकैचोटी विकास गर्न जादुको छडी कोहीसँग नरहेको भन्दै प्रतिकुल अवस्थाबाट अनुकुलतातर्फ लैजान सरकारले काम गरिरहेको उल्लेख गरेका छन् । उनले सरकारले शुक्रवार जारी गरेको नीति तथा कार्यक्रमबाट पनि देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिस्थितिलाई सम्हाल्ने गरी आएको देखिने स्पष्ट पारे ।
