sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सहिद धर्मभक्त अध्ययन प्रतिष्ठानले गर्यो कागेश्वरीमा ई-लर्निङ सेन्टर स्थापना

१६ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सहिद धर्मभक्त अध्ययन प्रतिष्ठान, नेपालले कागेश्वरी मनोहरामा ई-लर्निङ सेन्टर स्थापना गरेको छ ।

बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन कार्यालय काठमाडौंको अनुदान साझेदारीमा स्थापना गरिएको सेन्टरको एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको छ । पर्यटन कार्यालय काठमाडौंका प्रमुख भक्त बहादुर भण्डारी र प्रतिष्ठानका अध्यक्ष संकेत कोइरालाले हस्तान्तरण पत्र आदान प्रदान गरेका थिए ।

हस्तान्तरण समारोहपछि सञ्चारकर्मीसँग बोल्दै प्रमुख भण्डारीले बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा सहिद धर्मभक्त अध्ययन प्रतिष्ठानले स्थापना गरेको ई–लर्निङ सेन्टर यो क्षेत्रका नागरिकका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । प्रविधिको यो समयमा प्रतिष्ठानले स्थापना गरेको ई–लर्निङ सेन्टरबाट धेरै भन्दा धेरै नागरिकले फाइदा लिनुपर्ने उनको भनाई छ । 

ई-लर्निङ सेन्टरले सो क्षेत्रका विद्यार्थी तथा सोधकर्ताका लागि विभिन्न क्रियाकलाप गर्ने संस्थाका उपाध्यक्ष ज्ञानप्रसाद आचार्यले बताएका छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सहिद धर्मभक्त अध्ययन प्रतिष्ठानले पछिल्लो समय प्राज्ञिक क्षेत्रमा काम गर्दै आएको छ । कागेश्वरी मनोहरा ९ नम्बरसँगको समन्वयमा स्थापना गरिएको ई–लर्निङ सेन्टर प्राज्ञ क्षेत्रका लागि उपयोगी हुने प्रतिष्ठानले विश्वास लिएको छ ।

सेन्टर सञ्चालनमा सहयोगी भूमिका निर्वाह गर्ने वडाध्यक्ष अनिल थापाले प्रतिबद्धता जनाए । काठमाडौंमा भए पनि कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका नागरिक प्रविधिसँग टाढा रहेको भन्दै ई–लर्निङ सेन्टर यो क्षेत्रका नागरिकका लागि सहयोगी हुने उनको विश्वास छ । प्रतिष्ठानसँगको समन्वयमा सेन्टरको प्रभावकारीताका लागि काम गर्ने अध्यक्ष थापाको भनाई छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्